विश्व शान्ति दिवसको अवसरमा संयुक्त दीप प्रज्वलन कार्यक्रम सम्पन्न

बुटवल, असोज ६ 
विश्व शान्ति दिवसको अवसर पारेर रुपन्देहीमा रहेका इनरह्वील क्लबहरूले संयुक्त रूपमा भोटेकोशी बाढीमा दिवङ्गत हुनुभएका आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्। तिलोत्तमा–४ मा रहेको अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा आयोजित कार्यक्रममा रुपन्देहीमा रहेका इनरह्वील क्लब अफ बुटवल, इनरह्वील क्लब अफ मिडटाउन, इनरह्वील क्लब अफ लुम्बिनी, इनरह्वील क्लब अफ सैनामैना, इनरह्वील क्लब अफ जितगढी र इनरह्वील क्लब अफ तिलोत्तमाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नगदसहित आवश्यक सामग्री वितरण गर्नुका साथै एक सय आठवटा दीप प्रज्वलन गरिएको कार्यक्रमका अध्यक्ष सुशीला पोखरेलले जानकारी दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारका विहार प्रमुख भिक्षु आनन्द सासनधज धम्मचार्य भन्तेले विहारमा आएर कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै दान–धर्मका विषयमा जानकारी गराउनुभएको थियो। उहाँले भगवान् बुद्धको पूजा, प्रार्थना तथा धार्मिक प्रवचन दिँदै शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश दिनुभएको थियो।

विशिष्ट अतिथि विहारका महासचिव धनिराम रानाले सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै मृत बाढीपीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै विपद्को समयमा सबै एकजुट भएर सहयोग गर्नुपर्ने बताउनुभयो।कार्यक्रमका विशिष्ट अतिथि डिष्ट्रिक्ट ३५० नेपाल पास्ट डिष्ट्रिक्ट चेयरमेन आशा श्रेष्ठले यस्ता कार्यक्रमले समाजमा शान्ति, भाइचारा र धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। 

उहाँले इनरह्वील क्लबले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि संयुक्त रूपमा कार्यक्रम आयोजना गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो। श्रेष्ठले सामाजिक सेवा, धर्म र दानपुण्यका कार्यलाई निरन्तरता दिन क्लबहरूलाई आग्रह गर्नुभयो।कार्यक्रममा शुभकामना मन्तव्य दिँदै इनरह्वील क्लब अफ  जितगढी वर्ष २०२६-२७ का अध्यक्ष गीता अर्याल पन्तले आफू अध्यक्ष भएको अवसरमा दिवङ्गत आत्माहरूको सम्झनामा दीप प्रज्वलनसहित कार्यक्रम आयोजना गर्न पाउँदा मनलाई शान्ति मिलेको बताउनुभयो।

त्यस्तै, इनरह्वील क्लब अफ लुम्बिनी अध्यक्ष कोपिला मरासिनीले सबै क्लबहरू संयुक्त रूपमा सहभागी भएर सेवा, दान र धार्मिक कार्य गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउनुभयो। इनरह्वील क्लब अफ तिलोत्तमा अध्यक्ष रेखा चौधरी लगायतले पनि शुभकामना मन्तव्य दिनुभएको थियो।


कार्यक्रममा इनरव्हिल क्लब अफ बुटवलका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक शान्ता शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। इनरव्हिल क्लब अफ सैनामैनाका अध्यक्ष सीता खनालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन इनरव्हिल क्लब अफ मिडटाउनका उपाध्यक्ष गीता खनालले गर्नुभएको थियो।कार्यक्रममा रुपन्देहीका विभिन्न इनरह्वील क्लबका अध्यक्ष, पूर्वअध्यक्ष आई.पी.पी.,सल्लाहकार, सचिव, आईडब्लू तथा सदस्यहरू, अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारका भिक्षु, भिक्षुणी, गुरु माता तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस
↑