एकै दिन रुपन्देहीमा ८ फरार प्रतिवादी पक्राउ
भैरहवा,१० कात्तिक
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले एकै दिनमा ८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। रुपन्देही जिल्ला अदालतको विभिन्न मिति र फैसलाबमोजिम विभिन्न मुद्दामा कैद तथा सजाय भइ हालसम्म फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देही तथा मातहत कार्यालयसमेतबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानहरुबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार पक्राउ पर्नेमा ज्यान मार्ने उद्योग मुद्दाका बुटवल उपमहानगरपालिका–११ माझगाउँका बाचे भन्ने किसन थापा, सवारी ज्यानका रोहिणी गाउँपालिका–५ प्रिपरहवाका शिबराज भन्ने सुरज कुमार चौधरी, बैंकिङ कसुरका सैनामैना नगरपालिका–३ मुर्गियाका लक्ष्मी बुढाथोकी, चेक अनादरका रोहिणी–४ खुरहुरीयाका गणेशमणी यादव, अंश नामसारीका रोहिणी–२ बैरिहवाका महम्मद उमर पठान, बैंकिङ कसुरका सिद्धार्थनगर नगरपालिका–१० शंकरपुरका अमित कुमार पाण्डे र चेक अनादरका सिद्धार्थनगर–५ का सरस्वती श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका ७ जनालाई फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको छ । सरस्वती श्रेष्ठलाई अदालतमा पेश गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।




प्रतिकृया दिनुहोस